राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद
काठमाडौं, वैशाख १६ : राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइ....

काठमाडौं, वैशाख १६ : राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ ।
उनीहरुबीच सोमबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले चीनले कोभिड १९रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गरे ।
उनले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गरे । प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्केकोमा खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ ।
दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा सहमत पनि भए । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको पनि स्मरण गरिएको थियो । (रासस)











