Kathmandu Press

राष्ट्रपति रनिङ शिल्डको आकर्षण ‘सिलाम साक्मा’

आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
राष्ट्रपति रनिङ शिल्डको आकर्षण ‘सिलाम साक्मा’

ताप्लेजुङ, माघ २९: ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ। खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ। 

आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा (मस्कट) निर्माण गरिएको छ। सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ। 

Hardik ivf

धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पहिलो पटक देख्नेहरूका लागि विशेष आकर्षण भएको छ। यहाँ पुग्ने जो कोही पनि यसको अगाडि तस्बिर खिच्न तथा टिकटक भिडियो बनाउन उत्साहित देखिन्छन्। हाल सामाजिक सञ्जालहरूमा समेत सिलाम साक्माले व्यापक चर्चा पाएको छ। 

बाँस र धागो प्रयोग गरेर वर्गाकार आकारमा निर्मित सिलाम साक्माको उचाइ र चौडाइ ५४ फिट रहेको छ।

विभिन्न आकारका सिलाम साक्मा प्रदर्शन तथा प्रचारका लागि राखिएको छ। भाटा प्रयोग गरी करिब एक हजार ५०० किलोग्राम तौलको सिलाम साक्मा निर्माण गरेर प्रवेशद्वार (गेट) बनाइएको हो। प्रतियोगितामा सहभागी विद्यार्थी, खेलाडी तथा शिक्षकलाई सिलाम साक्माको महत्त्व बुझाउन यो प्रतिमा निर्माण गरिएको निर्देशक छेटु लामा तामाङले बताए। 

फुङ्लिङ नगरपालिका–४ का सिलाम साक्मा उत्पादक कृष्ण लिम्बूका अनुसार लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो, र ‘साक्मा’ को अर्थ छेक्नु हो, अर्थात् “मृत्युको बाटो छेक्ने” भन्ने अर्थ व्यक्त गर्दछ।

उनले भने, ‘सिलाम साक्मामा नौ वटा रेखी हुन्छन्। सेतो, रातो, र कालो रङ्गका धागो अनिवार्य रूपमा प्रयोग गरिन्छ।’

पछिल्लो समय सिलाम साक्माको माग बढ्दै गएको र महोत्सव तथा कार्यक्रममा अतिथिलाई स्वागत ब्याजको साटो यसको प्रयोग हुन थालेको लिम्बूले बताए। यसबाट राम्रो आम्दानीसमेत भइरहेको छ। 

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले सिलाम साक्माले सांस्कृतिक पहिचान प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए।

सिलाम साक्माको प्रचारप्रसारका लागि नै यसको प्रतिमा निर्माण गरिएको उनको भनाइ छ। सिलाम साक्माको प्रयोगले मौलिक पहिचान प्रवर्द्धनसँगै पर्यटन विकासमा समेत योगदान पुगेको छ। 

लिम्बू समुदायका धार्मिक कर्मकाण्डमा फेदाङ्मा, येबा, साम्बा, बिजुवाहरूले बाँसको सिन्का र धागो प्रयोग गरी सिलाम साक्मा निर्माण गर्ने परम्परा छ।

लिम्बू मुन्धुमअनुसार, सिलाम साक्माले दिवङ्गत आत्माको बाटो छेक्ने विश्वास गरिन्छ। साथै, जीवित व्यक्तिको दिनचर्या सुखमय बनाउने, स्वास्थ्य, स्फूर्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने जनविश्वास रहेको छ।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्