बालुवाटारमा ओली-नेपालको भेटपछि कोटेश्वरमा दुई पक्षका नेताहरुबीच छलफल
काठमाडौं, वैशाख १५ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटपछि दुवै पक्षका नेताहरुबीच छलफल भएको छ....

काठमाडौं, वैशाख १५ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटपछि दुवै पक्षका नेताहरुबीच छलफल भएको छ।
कोटेश्वरस्थित नेपाल निवासमा वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीनिकट नेताहरुबीच छलफल भएको हो। वरिष्ठ नेता नेपाल र प्रधानमन्त्रीसमेत रहेका ओलीबीच बालुवाटारमा एक्लाएक्लै भेट भएपछि दुई समूहका शीर्ष नेताहरुबीचको बैठक कोटेश्वरमा बसेको थियो।
बैठकमा नेता नेपालसहित उनीनिकट नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त तथा ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कटिमी सदस्य शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए।
यसअघि बालुवाटारमा सोमबारै भएको भेटमा वरिष्ठ नेता नेपालले शक्ति बाँडफाँड, पार्टीभित्रको विवाद लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। दुई नेताबीचको छलफलपछि दुवै समूहका शीर्ष नेताहरुबीचको बैठक बोलाइएको थियो। बैठकले मंगलबार सचिवालयको बैठक बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
नेपाल पक्षले अध्यक्ष ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने माग राख्दै आएको छ भने ओली समूहले नेपाल समूहलाई पार्टी र सरकारमा उचित स्थान दिने बताउँदै आएको छ।











