संसदमा प्रचण्डले भने - अब हामी सत्ताको खेलमा छैनौं, कांग्रेस-एमाले डराउनुपर्दैन
'संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने प्रतिरोध गर्छौं'
काठमाडौं, माघ २४ : प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी सत्ताको खेलमा नरहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले आफू सत्ताको खेलमा नरहेकाले कांग्रेस एमालेलाई नडराउन आग्रह गरे।
'अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं,' उनले भने।
प्रचण्डले माओवादी केन्द्र जनतातिर फर्किसकेको पनि संसदमा जानकारी गराए।
' शहीदका सपना र संकल्पतिर फर्किसक्यौं । तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौ,' उनले भने, ' अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ....।'
एमाले र कांग्रेसबीच विश्वास छ भने दिन दिनै प्रधानमन्त्रीले सरकार यति महिनापछि देउवालाई छाड्छु भनिरहन आवश्यक नरहेको बताए।
' हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो,' उनले भने।
त्यसकारण माओवादीको डरका कारण प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एकअर्काका कुर्सी मिलाउन नपर्ने उनले बताए।
'स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन,' उनले भने, ' ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ ।'
उनले अब माओवादी केन्द्रले आफ्नै सामर्थ्यमा सरकार बनाउने बताए।
'हामी सरकार बनाउनेछौं तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं,' उनले भने।












