Kathmandu Press

प्रधानमन्त्री पूरै देशलाई एमालेजस्तै विवेकमुक्त बनाउन चाहनुहुन्छ: प्रचण्ड

'सामाजिक सञ्जाल नियमन विधेयकमा कांग्रेसले जवाफ दिनुपर्छ'
प्रधानमन्त्री पूरै देशलाई एमालेजस्तै विवेकमुक्त बनाउन चाहनुहुन्छ: प्रचण्ड
तस्वीर: प्रचण्डको सचिवालय।

काठमाडौं, माघ २४ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सामान्य आलोचना पनि सहन नसक्ने व्यक्ति रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्नेगरी विधेयक दर्ता भएको र त्यसमा सरकारको नियत प्रष्ट देखिएको बताएका हुन्।

'प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ,' उनले भने।  

त्यसकारण प्रधानमन्त्री ओली अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनुलाई अनौठो नमान्ने उनले बताए।

'यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ,' उनले भने।

उनले बरू यसबारेमा कांग्रेसले जवाफ दिनुपर्ने बताए।

'मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?,' उनले भने।

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्