चितवन अदालतले भन्यो- सहकारी ठगीमा रवि लामिछाने संलग्न नरहेको भन्न सकिएन
धरौटी बुझाएर छुट्ने तयारीमा लामिछाने
चितवन, माघ २४ : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था देखाउँदै ५४ लाख धरौटीमा छाड्ने आदेश गरेको छ ।
साहारा चितवन सहकारी रकम अपचलन मुद्दामा बयान र थुनछेक बहस सकिएपछि चितवन अदालतले ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था रहेको आदेशमा उल्लेख गरेको छ ।
अदालतको आदेशमा उल्लेख छ, ‘प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनू।’
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको थियो । चितवन अदालतमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो ।
अहिले धरौटी रकम बुझाएर थुनामुक्त हुने तयारी भइरहेको छ ।












