सामाजिक सञ्जाल विधेयकबारे प्रचण्डले भने- बोलेकै आधारमा हतकडी लगाउने सरकारले पारित भए के गर्ला ?
प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
काठमाडौं, माघ २४ : प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर सरकारले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोजेको बताएका हुन्।
'नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?,' प्रचण्डले भने।
उनले संसदमा दर्ता भएको उक्त विधेयक आपत्तिजनक रहेको पनि बताए।
'सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ । यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको छ । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ?,' उनले भने।
उनले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिएको बताए।
'सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?,' उनले प्रश्न गरे।












