रवि लामिछानेसँग चितवन अदालतले माग्यो ५४ लाख धरौटी
न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटी रकम मागेको हो।
चितवन, माघ २४ : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी रकम अपचलन मुद्दामा बयान र थुनछेक बहस सकिएपछि ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।
न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटी रकम मागेको हो।
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको थियो।
चितवन अदालतमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो । अहिले धरौटी रकम बुझाएर थुनामुक्त हुने तयारी भइरहेको छ।
अभियोगपत्रको प्रतिरक्षामा सरकारी वकील रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे । पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरे ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरे।












