Kathmandu Press

सामाजिक सञ्जाल दर्ता गर्न नआए प्रतिबन्ध लगाइने छ : सञ्चारमन्त्री 

विधेयकका बिषयमा केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा विरोध हुनु स्वाभाविक रहेको बताए।
सामाजिक सञ्जाल दर्ता गर्न नआए प्रतिबन्ध लगाइने छ : सञ्चारमन्त्री 
फाइल तस्बिर।

काठमाडौं, माघ २३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ताका लागि नआउनेलाई सरकारले प्रतिबन्ध लगाउने स्पष्ट पारेका छन्।
 
मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने सामाजिक सञ्जालमाथि कारबाही गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको समेत प्रष्ट गरेका छन्। बुधबार नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री गुरुङले यस्तो भनाई राखेका हुन्। उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको बताए। 

‘त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको हो,’ मन्त्री गुरुङले भने, ‘मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र होइन। नियमनका लागि संसद्मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसद्मा पेस गरिएको छ।’ 

Hardik ivf

विधेयकका बिषयमा केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा विरोध हुनु स्वाभाविक रहेको बताए। ‘सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राख्नुपरेको हो,’ उनले भने।

उनले जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको पनि बताए। 

कसैले नेशनल इन्टिग्रिटी भत्काउने काम गर्न नमिल्ने बताउँदै त्यस्तो कार्य देशद्रोह रहेको समेत बताए। साइबर क्राइमका घटनाहरू बढिरहेका कारण त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको जानकारी पनि उनले दिए। 

चालु अधिवेशनमा आईटी, सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी विधेयक पेस हुने जानकारी पनि मन्त्री गुरुङले दिए। 

प्रकाशित मिति: १५:०० बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्