Kathmandu Press

गल्ती भएकै हो, अब सच्याउँछौं : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए।
गल्ती भएकै हो, अब सच्याउँछौं : अध्यक्ष दाहाल

म्याग्दी, माघ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्।

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौं। म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं,’ उनले भने।

Hardik ivf

अध्यक्ष दाहालले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए।  

‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं। अब जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं,’ उनले भने, ‘अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइनेछ। ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्ने छ।’

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए।

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए।

उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको बताए।

अध्यक्ष दाहालले भने, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ।’

आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए।

उनले माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताए।

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्