सँगै जेल बसेका हौं, ओलीलाई अविश्वास गर्नुपर्ने कारण छैन : सभापति देउवा
कांग्रेस र एमाले लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने सभापति देउवाले बताए। कांग्रेस र एमालेको गठबन्धन सरकार स्थायित्वका लागि भएको उनको भनाई थियो।
कास्की, माघ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाईै अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको भनाई राखेका छन्।
पोखरामा आयोजित ७७ वटै जिल्लाका सभापति, उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुखहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै देउवाले यस्तो भनाई राखेका हुन्।
‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ। धेरै दुःख, कष्ट थियो। छुट्ने सम्भावना हुँदैनथ्यो। झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो,’ देउवाले भने, ‘हामी मुख्य प्रतिस्पर्धी हौं। तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’
कांग्रेस र एमाले लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने सभापति देउवाले बताए। कांग्रेस र एमालेको गठबन्धन सरकार स्थायित्वका लागि भएको उनको भनाई थियो।
प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने आवाज उठेको सन्दर्भमा देउवाले प्रष्ट गरे।
‘अहिलेको बेला मात्रै होइन। धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ देउवाले भने, ‘कतिबेला सरकार ढल्ने हो । कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन। दुईवटा पार्टी मिलेर सरकार बनेको छ। यसको स्थायित्व स्पष्ट छ।’
अर्को प्रसङ्गमा देउवाले संविधानको यही व्यवस्थामा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने भनाई समेत राखे । कांग्रेस बिच एकता हुन सके आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने भनाई पनि देउवाको छ।
‘हामीबिच एकता हुन सक्यो भने बहुमत कांग्रेसले ल्याउन सक्छ । यो प्रशिक्षणबाट पार्टीलाई एकताबद्ध बनाउन सकोस्,’ उनले भने।