राष्ट्रियसभा अध्यक्षद्वारा हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न आग्रह
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन्।
काठमाडौं, माघ २१ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन्।
सोमबार इजरायली राजदूत श्मुलिक आरी बाससँग उहाँले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताए।
भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको सुनाए।
हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताएका थिए।












