माओवादी पदाधिकारी बैठकले गरेका तीन निर्णय
पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बैठकले प्रदेश इन्चार्ज तोक्ने निर्णय गरेको छ।
काठमाडौं, माघ २१ : माओवादीको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ।
सोमबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पदाधिकारीको कार्यविभाजन लगायत विभिन्न निर्णय गरेको हो।
पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बैठकले प्रदेश इन्चार्ज तोक्ने निर्णय गरेको छ।
जसअनुसार बैठकले कोशी प्रदेश इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृका यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखेललाई इन्चार्ज तोकेको हो।
गैरभूगोलको विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्तीलाई तोकिएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीति, सांगठानिक संरचना र पार्टीको आगामी अभियानबारे पनि छलफल भएको थियो।
माओवादी केन्द्रले यसअघि जनतासँग जोडिनका लागि हुलाकी राजमार्ग केन्द्रीत अभियान चलाउने निर्णय गरेको थियो।
सोमबारको बैठकले उक्त अभियान फागुन १२ गते झापाबाट गर्ने निर्णय पनि गरेको छ।
पार्टीबाट निर्वाचित भएका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए।












