मध्यपहाडी लोकमार्ग ४७ अर्ब महंगो
काठमाडौं, फागुन १९ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गको निर्माणमा ढिलाइ हुँदा लागत दोब्बरभन्दा बढीले बृद्धि भएकोे छ । आयोजना शुरु....
काठमाडौं, फागुन १९ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गको निर्माणमा ढिलाइ हुँदा लागत दोब्बरभन्दा बढीले बृद्धि भएकोे छ । आयोजना शुरु हुँदा ३३ अर्ब ३६ करोड रहेकोमा अब ८० अर्ब १४ करोड लाग्ने प्रक्षेपण गरिएको छ ।
सरकारले आर्थिक वर्ष ०७३/७४ मा आयोजनाको लागत संशोधन गरेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयले जनाएको छ । संसोधित लागत ८० अर्ब १४ करोड पुगेको हो ।
यो आयोजना आर्थिक वर्ष ०६४/६५ मा शुरु भएको थियो । त्यतिबेला आर्थिक वर्ष ०७३/७४ मा निर्माण सम्पन्न गर्ने समयावधि तोकिएको थियो । तर, निर्माण ढिलाइ हुँदा पाँच वर्ष म्याद थपिएको छ । संशोधित कार्यअवधिअनुसार अब आर्थिक वर्ष ०७८/७९ मा मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न हुनेछ ।
तर, अहिलेको कामको गति हेर्दा समयमै सकिने सम्भावना न्यून देखिन्छ । चालू आर्थिक वर्षको पुषसम्म ३० अर्ब ३६ करोड (३७.८८ प्रतिशत) मात्रै खर्च भएको छ । यस आर्थिक वर्षका लागि विनियोजित पाँच अर्ब ५० करोडमध्ये पनि चार अर्ब ३१ करोड खर्च भएको छ । यो वर्ष ९० किलोमिटर कालोपत्रे गर्न सात अर्ब ४३ करोड थप रकम आवश्यक रहेको आयोजना निर्देशनालयले जनाएको छ । सकरारले भने, ५० करोड मात्रै थप गरेको छ ।
आयोजना निर्देशनालयका अनुसार आगामी आर्थिक वर्ष ०७६/७७ मा चार सय २४ किलोमिटर कालोपत्रे गरिने छ । जसका लागि १८ अर्ब ५० करोड बजेट आवश्यक छ । आर्थिक वर्ष ०७७/७८ मा तीन सय तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य छ । त्यसका लागि १६ अर्ब १९ करोड लाग्ने जनाएको छ ।
त्यस्तै, आयोजना सम्पन्न गरिने वर्ष ०७८/७९ मा तीन सय ३१ किलोमिटर कालोपत्रेका गरिने भएको छ । जसका लागि नौ अर्ब ६४ करोड आवश्यक पर्ने आयोजनाले जनाएको छ ।
काम तीब्र गतिमा : निर्देशनालय
आयोजना निर्देशनालयले काम तीब्र गतिमा भइरहेको जनाएको छ । निर्देशनालयका अनुसार यस वर्षदेखि मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँच वटा कार्यालयबाट काम थालिएको छ । पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा कार्यालय स्थापना गरी काम भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रत्येक कार्यालयसँग करिब ४० वटा निर्माण कम्पनी गरी पूर्वदेखि पश्चिमसम्म करिब दुई सय निर्माण कम्पनीले काम गरिरहेका छन् ।
पूर्व–पश्चिमी पहाड जोड्ने लोकमार्र्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम चालू आर्थिक वर्षमा जारी छ । त्यस्तै, पाँचथर, भोजपूर, गोरखा, पर्वतलगायतका जिल्लाका केही भागमा गरी एक सय ५० किलोमिटरमा कालोपत्रे भइरहेको आयोजना निर्देशक दिपक केसीले बताए ।
निर्देशनालयका अनुसार पुषसम्ममा सात सय ३१ किलोमिटर सडक कालोपत्रे भएको छ । जसमध्ये यो वर्ष २५ किलोमिटर कालोपत्रे भएको हो । त्यस्तै, आयोजनाका ५६ पुल निर्माण भएका छन् । लोकमार्गमा एक सय ३० वटा पुल निर्माण गर्नु पर्नेछ ।
अबको तीन वर्षमा लोकमार्ग निर्माण सम्पन्न गरिसकिने छ । तर, अहिलेसम्मको काम हेर्दा भने त्यस्तो देखिँदैन् । अहिलेसम्म ३९ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
पूर्व–पश्चिम एक हजार आठ सय ७९ किलोमिटर (संशोधित) लामो लोकमार्गमध्ये अहिलेसम्म सात सय ७५ किलोमिटर नयाँ ट्रयाक खुलेको छ । त्यसको स्तरोन्नति र कालोपत्रे गरी ३९ प्रतिशत मात्रै काम भएको हो ।
चियो भन्ज्याङदेखि झुलाघाट
मध्यपहाडी लोकमार्र्गले २६ जिल्ला जोड्ने छ । जसमा पूर्वको पाँचथरको चियो भञ्ज्याङदेखि पश्चिमको बैतडीको जुलाघाटसम्म दुई सय १५ बस्ती जोडिने छन् । यसबाट करिब एक करोड बासिन्दा लाभान्वीत हुने छन् ।
यो राजगर्मा साढे आठ मिटर चौडा हुने छ । यसमा चल्ने सवारी साधनले ५० किलोमिटर प्रति घण्टाको गतिमा गुड्न पाउने छन् ।