Kathmandu Press

सभापति कपः फाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्रबीच भिडन्त

सभापति कपः फाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्रबीच भिडन्त

काठमाडौं, माघ १४ः नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौँमा जारी सभापति कप फुटबल प्रतियोगिताको आज पहिलो सेमिफाइनल खेल हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्। संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। संकटाले पहिलो खेलमा शानदार प्रदर्शन गर्दै चर्च ब्वाइजमाथि ३–० गोलको जीत दर्ता गरेको थियो। संकटा सोही लय कायम राख्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेको छ।

उता, मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १–० को कठिन जीत दर्ता गरेको थियो। बराबरीतर्फ उन्मुख खेलमा पेनाल्टीको तयारी स्वरूप गोलकिपर पनि परिवर्तन गरेको अवस्थामा मच्छिन्द्रका शनिस श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराएका थिए। 

संकटा र मच्छिन्द्र बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। दोस्रो सेमिफाइनलमा भने नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र न्यु रोड टिम एनआरटी भिड्ने छन्। दोस्रो सेमिफाइनल मङ्गलवार हुने छ।

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उपविजेता हुने टोलीले १३ लाख प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाउँछन्। प्रतियोगिता हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट दर तोकिएको छ।
 

प्रकाशित मिति: १४:०० बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्