कोरोना भाइरस : महाव्याधिका कारण विश्वभर बढ्यो भोकमरीको जोखिम
संयुक्त राष्ट्र संघले कोरोना भाइरस महाव्याधिका कारण विश्वभरि भोकमरीको जोखिम बढेको चेतावनी दिएको छ।
विश्व खाद्य कार्यक्रम (डब्लयुएफपी) का प्रमुख डेभिड बिस्लील....

संयुक्त राष्ट्र संघले कोरोना भाइरस महाव्याधिका कारण विश्वभरि भोकमरीको जोखिम बढेको चेतावनी दिएको छ।
विश्व खाद्य कार्यक्रम (डब्लयुएफपी) का प्रमुख डेभिड बिस्लीले विनाशबाट बच्न अर्जेन्ट एक्सन आवश्यक भएको बताएका छन्। भोकमरीबाट पीडितको संख्या साढे तेह्र करोडबाट साढे पच्चिस करोडभन्दा धेरै हुने एउटा प्रतिवेदनको अनुमान छ।
द्वन्द्व, आर्थिक सङ्कट र जलवायु परिवर्तनका प्रभावित दश वटा देश सबैभन्दा बढी जोखिमा भएको डब्ल्यूएफपीले जनाएको छ। चौथो वार्षिक ग्लोबल रिपोर्ट अन फुड क्राइसिसले येमन, कङ्गो, अफ्गानिस्तान, भेनेजुएला, दक्षिण सुडान, सुडान, सिरिया, नाइजेरिया र हेटी बढी जोखिमा भएको बताएको हो।
प्रतिवेदन अनुसार पोहोर साल दक्षिण सुडानको ६१ प्रतिशत खाद्य सङ्कटबाट प्रभावित थिए। महाव्याधिअघि पनि पूर्वी अफ्रिका र दक्षिण एसियामा गम्भीर खाद्य अभाव थियो। भिडियो कन्फेरेन्समार्फत संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै बिस्लीले सारा संसारले चाँडो र विवेकपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए।
उनले भने,“केही महिनाको अवधिभित्रै हामीले अभूतपूर्व महामारीको सामना गर्नसक्छौं। सत्य के हो भने, हामीसँग समय पनि छैन। कोभिड १९ महाव्याधि खाद्य सङ्कट र मानवीय विनाश नहोस् भन्ने सुनिश्चित गर्न हाम्रो विशेषज्ञता र साझेदारीबाट आवश्यक समूह र कार्यक्रम ल्याउनसक्छौं भन्ने मलाई विश्वास छ।”
महाव्याधिको आर्थिक प्रभाव लाखौंका लागि विनाशकारी हुने डब्ल्यूएफपीका वरिष्ठ अर्थविद् आरिफ हुसैनले बताए। उनीहरू पहिले नै ठूलो जोखिमा छन्। “ज्याला कमाएर मात्रै खान पाउनेका लाखौंका लागि यो ठूलो धक्का हो,” उनले भने, “बन्दाबन्दी र विश्वव्यापी आर्थिक मन्दीले पहिले नै समस्या बढाएको छ। कोभिड १९ ले समस्या झनै गम्भीर बन्नेछ। यो विश्वव्यापी विनाशको प्रभाव कम गर्न हामी सबै एक भएर काम गर्नुपर्छ।”
आर्थिक सङ्कटका कारण होथी विद्रोहीको नियन्त्रणमा भएको येमनका केही क्षेत्रमा आधामात्रै सहयोग उपलब्ध गराउने तयारी गरेको डब्ल्यूएफपीले बताइसकेको छ। होथीले आपूर्तिमा बाधा हालेको भन्ने विषयमा केही दाताले सहयोग दिन बन्द गरेको संस्थाले जनाएको छ।
डब्ल्यूएफपीले येमनका मासिक एक करोड २० लाख जनसंख्यालाई खाना खुवाउने गर्छ। तीमध्ये ८० प्रतिशत होथी विद्रोही नियन्त्रित क्षेत्रमा बस्छन्।
येमनमा कोभिड १९ को पहिलो बिरामी यो महिना देखिएको छ। दातृ निकायले देशको कमजोर स्वास्थ्य प्रणालीलाई रोगले चाँडै थला पार्ने चेतावनी दिएका छन्।












