कास्की प्रहरीको हिरासतबाट छुटे रवि लामिछाने
काठमाडौं, पुस २५ :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त भएका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका हुन्।
सहकारी ठगीसँगै उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत कास्की जिल्ला अदालतमा मुद्दा चलेको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतको आदेशअनुसार ६५ लाख रूपैयाँ धरौटी बुझाएर उनी बिहीबार राति हिरासतमुक्त भएका हुन्।
सूर्यदर्शन सहकारीको बचत अपचलनमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रहरीको रायअनुसार सरकारी वकिल कार्यालयले लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेसहित ७ जनाविरूद्ध भने सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाइएको थियो।
लामिछानेविरूद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणमा रवि लामिछानेविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको थियो।
कास्की प्रहरीको हिरासतमै हुँदा लामिछानेलाई सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पर्साको सानोपाइला सहकारी र चितवनको सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा बयान गर्न तत् स्थान पुर्याइएको थियो।
लामिछानेविरूद्ध काठमाडौको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिसकेको छ।
यो पनिः
रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतले दिएको आदेशमा के छ?
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश