घरेलु मैदानमै हार्यो आर्सनल, न्युक्यासल फाइनल नजिक
सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई २-० ले पराजित गर्दै न्युक्यासल सन् १९५५ पछि पहिलो ठूलो घरेलु उपाधि जित्ने लक्ष्यका एक कदम नजिक पुगेको हो ।
काठमाडौं, पुस २४ : न्युक्यासल इंग्लिस लिग कपको फाइनल नजिक पुगेको छ ।
सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई २-० ले पराजित गर्दै न्युक्यासल सन् १९५५ पछि पहिलो ठूलो घरेलु उपाधि जित्ने लक्ष्यका एक कदम नजिक पुगेको हो ।
सन् २०१० यता न्युक्यासलको एमिरेट्समा पहिलो जित हो । यसैगरी अप्रिलपछि घरेलु मैदानमा आर्सनलको यो पहिलो पराजय हो । दोस्रो लेग भने फेब्रुअरी ५ मा सेन्ट जेम्स पार्कमा हुनेछ ।
एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासलका अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गर्दै टिमलाई मार्चमा वेम्बली स्टेडियममा हुने फाइनलको नजिक पुर्याए । ‘यो सानदार नतिजा हो । तर, यदि हामी फाइनलमा पुग्न सकेनौँ भने यसले कुनै अर्थ राख्दैन,’ इसाकले भने ।
इसाकले खेलको ३७ औँ मिनेटमा गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । यो उनको पछिल्ला १५ खेलमा १४औँ गोल हो । ५१औँ मिनेटमा आर्सनलका गोलकिपर डेविड रायाले इसाकको प्रहार रोके पनि रिबाउन्डमा गोर्डनले गोल गरे ।
न्युक्यासलले लगभग ७० वर्षयता कुनै ठूला घरेलु उपाधि जित्न सकेको छैन । तर, यो जितपछि क्लब २०२३ मा म्यानचेस्टर युनाइटेडसँग फाइनलमा पराजित भएपछि दोस्रोपटक लिग कपको उपाधि नजिक पुग्ने सम्भावना बलियो बनाएको हो ।
न्युक्यासलले यस सिजन प्रिमियर लिगको पाँचौँ स्थानमा बसेर च्याम्पियन्स लिगमा पुनः प्रवेशका लागि संघर्ष गरिरहेको छ । युरोपियन क्लब फुटबलको उच्चस्तरमा स्थान बनाउन टिम केवल एक अंकले बाहिर छ । इडी हाउको नेतृत्वमा रहेको न्युक्यासलको यो लगातार सातौँ जित हो ।












