Kathmandu Press

एफ-वान सफ्टको खाताबाट साढे ३ करोड 'चोरी' प्रकरण: ९ जनालाई धरौटीमा छाड्न आदेश

अझै भेटिएन मुख्य अभियुक्त, अनुसन्धान गर्दै प्रहरी
एफ-वान सफ्टको खाताबाट साढे ३ करोड 'चोरी' प्रकरण: ९ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं, पुस २४ : आइटी कम्पनी एफ-वान सफ्टको बैंक खाताबाट साढे तीन करोड रूपैयाँ भन्दा बढी रकम 'चोरी' प्रकरणमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

दरबारमार्गस्थित सिटिजन्स बैंकमा रहेको एफ-वान सफ्टको खाताबाट ३ करोड ५१ लाख ५० हजार ३७२ रूपैयाँ 'चोरी' भएको घटनामा गत विहीबार नेपाल प्रहरीको साइबर ब्युरोले त्यसमा संलग्न २४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

चौबिसमध्ये ९ जना पक्राउ परेका थिए भने बाँकीलाई फरार सूचिमा राखेर ब्युरोले मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले नौ जनालाई नै धरौटीमा छाड्न आदेश गरेको हो।

अदालतले राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको छ।

उनीहरूको बैंक खाता प्रयोग गरी एफ-सफ्टको अकाउन्टबाट चोरी भएको पैसा रकमान्तर भएको थियो।

यस विषयमा पक्राउ परेका सबैले घटनाबारे आफू अनभिज्ञ भएको बताएका थिए।

उक्त प्रकरणका मुख्य योजनाकार अझै पत्ता लाग्न सकेको छैन। साइबर ब्युरोले उनीहरुलाई खोजीरहेको छ।

यो पनिः जसले बैंकको सफ्टवेयर बनायो उसैको खाताबाट साढे ३ करोडभन्दा बढी पैसा चोरी

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, पुस २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्