Kathmandu Press

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलकबोल आव्हान

बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ।
७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकद्वारा बोलकबोल आव्हान

काठमाडौं, पुस १४ : नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ। 

बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ।

यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ। आव्हान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ। 

Hardik ivf

बोलकबोल र निष्काशन मिति दुवै २०८१ पुस १४ मा तोकिएको छ। साँवा र ब्याज भुक्तानी भने २०८१ माघ ६ मा हुनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आव्हान रकमसम्म बोल गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ।

बोलकबोल ब्याजदरमा आधारित हुनेछ, जसमा न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै बाँडफाँड गरिनेछ। बोलपत्र स्वीकृत भएमा सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंक खाता खर्च गरी रकम लिने व्यवस्था हुनेछ।

निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने प्रावधान छ। तर, निर्देशनअनुसारको अन्य मौज्दातमा भने यो रकम गणना गर्न सकिनेछ।

बोलकबोल प्रक्रियाबारे विस्तृत जानकारी आवश्यकपरे राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।


 

प्रकाशित मिति: १२:३० बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्