यसकारण रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ ले मुद्दा दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गरेको छ।काठमाडौं, पुस ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको छ।
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परेको हो।
लामिछानेविरूद्ध दायर भएको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनको सांसद पद निलम्बनमा परेको हो।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ ले मुद्दा दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गरेको छ।
उक्त दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ भनिएको छ।
उक्त दफामा प्रयोग भएको राष्ट्रसेवक शब्दबारे भ्रष्टाचार निवारण ऐन २०५९ ले व्याख्या गरेको छ।
उक्त ऐनले राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार वा सार्वजनिक सस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक पालना गर्नको लागि सरकार वा संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुविधा हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी नियुक्त, मनोनीत वा निर्वाचित व्यक्तिलाई राष्ट्रसेवक भनेको छ।
सोही आधारमा लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।
यसबारे कास्की जिल्ला सरकारी वकिलको कार्यालयले संघीय संसद सचिवालयलाई पत्राचार समेत गरिसकेको छ।
पत्रमा सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ को प्रयोजन उल्लेख भएको संसद सचिवालयले जनाएको छ।
आइतबार अबेर गरी सरकारी वकिल कार्यालयले पठाएको पत्रबारे संसद सचिवालयले कुनै निर्णय भने गरिसकेको छैन।
संसद सचिवालयले पत्रानुसार सूचना टाँस गरेपछि लामिछाने सांसदबाट निलम्बित हुनेछन्।
यसअघि लामिछानेलाई २०७९ माघ १३ गते नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पार्टीको सभापति, उपप्रधान एवम् गृहमन्त्री र सांसदबाट समेत पदमुक्त गरेको थियो।
लामिछानेको सांसद पद निलम्बनमा परेपछि २१ सांसद रहेको रास्वपाले अब संसदीय दल नेता चुन्नुपर्नेछ। रास्वपाको संसदीय दल उपनेतामा हरि ढकाल छन्।