Kathmandu Press

रविलाई निलम्बन गर्न सरकारी वकिलले संसद सचिवालयलाई पठायो पत्र

पत्रानुसार सभामुखले सूचना टाँस गरेपछि लामिछाने सांसदबाट निलम्बित हुनेछन्।
रविलाई निलम्बन गर्न सरकारी वकिलले संसद सचिवालयलाई पठायो पत्र

काठमाडौं, पुस ७ : जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बनमा राख्न पत्राचार गरेको छ।

आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेको संसद पद निलम्बनमा राख्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको हो।

लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो।

Hardik ivf

उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन माग गर्दै कार्यालयले अभियोगपत्र दर्ता गरेको थियो।

जिल्ला अदालत कास्कीमा लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्ता भएकाले सोही अनुरूप उनको सांसद पद निलम्बन गर्न पत्राचार गरेको हो।

आइतबार अबेर पत्र आएका कारण सचिवालयले त्यसबारे थप कारबाही अगाडि बढाएको छैन। सम्भवतः सोमबार उक्त पत्रमा कारबाही हुनेछ।

 सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ ले मुद्दा दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गरेको छ।

उक्त दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ भनिएको छ।

 उक्त दफामा प्रयोग भएको राष्ट्रसेवक शब्दबारे भ्रष्टाचार निवारण ऐन २०५९ ले व्याख्या गरेको छ।

उक्त ऐनले राष्ट्रपति, नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको शपथबाट वा नेपाल सरकार वा सार्वजनिक सस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक पालना गर्नको लागि सरकार वा संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुविधा हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी नियुक्त, मनोनीत वा निर्वाचित व्यक्तिलाई राष्ट्रसेवक भनेको छ।

सोही आधारमा लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।

संसद सचिवालयले पत्रानुसार सूचना टाँस गरेपछि लामिछाने सांसदबाट निलम्बित हुनेछन्।

यसअघि लामिछानेलाई  २०७९ माघ १३ गते नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पार्टीको सभापति, उपप्रधान एवम् गृहमन्त्री र सांसदबाट समेत पदमुक्त गरेको थियो।   

लामिछानेको सांसद पद निलम्बनमा परेपछि २१ सांसद रहेको रास्वपाले अब संसदीय दल नेता चुन्नुपर्नेछ। रास्वपाको संसदीय दल उपनेतामा हरि ढकाल छन्।

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, पुस ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्