Kathmandu Press

एनपिएलका फ्लप स्टार

सन्दीप लामिछानेदेखि आरिफ शेखसम्म
एनपिएलका फ्लप स्टार

अन्तर्राष्ट्रिय स्तरमै निकै हाइप पाएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) उत्तरार्द्धमा छ। मंसिर १५ गतेबाट टियू क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता शनिबार दिउँसो हुने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको भीडन्तसँगै सकिँदैछ।

पहिलो नेपाली घरेलु प्रतियोगिता चर्चित स्पोर्ट्स च्यालन ‘स्टार स्पोर्ट्स’बाट प्रत्यक्ष प्रसारण भएकाले पनि एनपिएल चर्चामा रह्यो। दर्शकको अथाह समर्थन, शिखर धवन, जिमी निशम, मार्टिन गप्टिल, रवि बोपराजस्जा चर्चित क्रिकेटरको आगमनले एनपिएलको उचाई थप बढ्यो।

एनपिएल चलिरहेकै बेला अन्तर्राष्ट्रिय क्रिकेटका लेजेन्ड ब्रायन लारा नेपाल आए। नेपाल आएको केही घण्टापछि नै लारा एनपिएल चलिरहेको कीर्तिपुरस्थित टियू मैदान पुगे। लारा आउने समाचारले खुशी दर्शक टियू मैदानमै लेजेन्ड लारालाई देख्दा निकै उत्साहित भए। लाराको आगमनले दर्शकमा मात्र होइन, खेलाडीमा पनि नयाँ उर्जा थप्यो। र, एनपिएलको हाइपलाई थप उचाईमा पुर्‍यायो।

Hardik ivf

बाहिरी चर्चा जस्तै मैदानमा पनि त्यही अनुसारको खेल भयो। अन्तर्राष्ट्रिय स्तरमा जस्तै गप्टिल, धवन, निशम र बोपराले उत्कृष्ट खेल पस्कँदै नेपाली दर्शकलाई खुसी दिए। विदेशी खेलाडीसँगै स्टार नेपाली खेलाडीहरू रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, करण केसीलगायतले नाम अनुसारकै प्रदर्शन गरे। विपिन शर्मा, अविशेष गौतम, दिनेश खरेल, इशान पाण्डेजस्ता युवा खेलाडी आफ्नो छाप छाड्न सफल रहे।

तर, केही स्टार खेलाडीहरूका लागि भने एनपिएल बिर्सनलायक रह्यो। आफ्नो नाम र क्षमता अनुसार खेल्न नसकेका केही स्टार खेलाडीहरूबारे चर्चा गरेका छौं;

सन्दीप लामिछाने

सन्दीप लामिछाने नेपाली क्रिकेटका सबैभन्दा ठूला स्टार हुन्। आईपिएललगायत विश्वका धेरैजसो फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले अन्य ७ खेलाडीसँगै मार्की खेलाडीका सूचीमा राख्यो। लक्की ड्रमार्फत सन्दीप विराटनगर किंग्समा पुगे, टिमको कप्तानी गरे।

पछिल्लो १ वर्षयता व्यक्ति समस्यासँग जुधेका सन्दीपको प्रर्दशन राष्ट्रिय टिममा खस्कँदो थियो। तर, पहिलो संस्करणको एनपिएलमा सन्दीपले लय समाउने र उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटप्रेमीको अपेक्षा थियो। दर्शक र आफ्नै अपेक्षामा सन्दीपले एनपिएलमा आफूलाई खरो उतार्न सकेनन्। खराब प्रदर्शनले निरन्तरता पायो।

469996200_122129988368455690_4277547486437643278_n-1734707943.jpg
 

प्रतियोगिताका कुल ७ खेलमा सन्दीपले ६ विकेट मात्र लिन सके। सुरुआती तीन खेलमा विकेट विहीन रहेका सन्दीपले चौथो खेलमा मात्रै विकेटको खाता खोलेका थिए। अन्तिम दुई खेलमा भने सन्दीप केही लयमा देखिए र ५ विकेट लिए।

एनपिएलमा सन्दीपका उत्कृष्ट बलिङ स्पेल ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिनु थियो। त्यो, लिगको अन्तिम खेलमा काठमाडौं गुर्खाजविरुद्ध थियो। विकेटका लागि संघर्ष गरेपनि सन्दीप किफायति भने रहे। उनको इकोनोमी ६.८२ छ, जुन टि–२०मा उत्कृष्ट हो।

कप्तान नै फिका देखिँदा त्यसको असर टिममा पनि देखियो। ८ टिम सहभागी प्रतियोगिता विराटनगरले २ खेलमात्रै जित्दै छैठौं स्थानमा सकायो।

कुशल भुर्तेल

एनपिएलमा सन्दीपको जस्तै कहानी कुशलको पनि रह्यो। टि–२० आईमा लगातार तीन अर्धशक हान्दै  नेपाली राष्ट्रिय टिममा स्थान बनाएका कुशल अट्याकिङ ब्याट्सम्यानका रुपमा परिचित छन्। राष्ट्रिय टिममा उनले केही यस्तै पारी पनि खेलेका छन्।

मार्की खेलाडीका रुपमा एनपिएलमा पोखरा एभेन्जर्सको नेतृत्व गरेका कुशलको ब्याट प्रतियोगिताभर शान्त रह्यो। उनीबाट एउटा भए पनि उत्कृष्ट इनिङका अपेक्षा गरेका दर्शक निराश भए।

प्रतियोगिताका कुल ७ खेलमा ६ इनिङमा ब्याटिङको अवसर पाए। त्यसमा उनको ब्याटबाट ५४ रन मात्रै निस्कियो। विराटगनर किंग्सविरुद्ध ३१ रन बनाउनु नै उनको उच्च स्कोर हो। ‘हिटर’को छबि बनाएका कुशलको स्ट्राइक रेट एनपिएलमा ८३.०७ मात्रै छ।

२ पटक मात्रै दोहोरो अंकमा स्कोर बनाएका उनी दुई पटक नै डकआउट भएका थिए। सुरूआती २ खेलमा ओपनिङमा आएका उनी रन नबनेपछि ४ खेलमा तेस्रो नम्बरमा ब्याटिङका लागि आए, तर लय भने उही रह्यो।

ब्याटिङमा ‘सुपर फ्लप’ भएका कुशलले बलिङमा भने राम्रै गरे। ६ इनिङमा बलिङ गरेका उनले ७.९७ को इकोनोमीमा ५ विकेट लिए। २७ रन खर्चेर २ विकेट लिनु उनको उत्कृष्ट स्पेल हो।

कप्तान फ्लप हुँदा पोखराले पनि लिग अन्त्यतिर सकायो। ७ मध्ये २ खेल जित्दै पोखरा पुछारबाट दोस्रो स्थानमा रह्यो।

गुल्सन झा

एनपिएलका अर्का फ्लप स्टार हुन्, युवा अलराउन्डर गुल्सन झा। जारी एनपिएलमा उनी ब्याट र बल दुवैमा फिका देखिए।

नेपाली राष्ट्रिय टिममा ‘म्याच विनर’का रुपमा रहेका गुल्सन एनपिएलको अक्सनमा ‘हटकेक’ थिए। उनका लागि सबै ८ टिमले अक्सनमा अधिकतम बोली लगाए। र, गोलप्राथाबाट सोमपाल मार्की खेलाडी रहेको कर्णाली याक्समा पुगे।

470761447_122131067390455690_2745750004889213911_n-1734707943.jpg
 

लामा–लामा सट खेलेर ‘म्याच विनर’को छवि बनाएका गुल्सनले एनपिएलमा भने त्यो छवि कायम राख्न सकेनन्। एक खेलमा ४९ रन बनाउँदै टिमलाई जिताउनु बाहेक उनी अन्य खेलमा संघर्षरत देखिए।

प्रतियोगितामा कुल ८ खेल खेलेका १८ वर्षीय गुल्सनले ११० को स्ट्राइक रेटमा कुल १३२ रन मात्र बनाउन सके। उनको एभरेज १८.८५ मात्र छ। उनी ३ खेलमा डकआउट भए।

ब्याटिङमा लय समात्न नसकेका गुल्सनले बलिङमा भने खासै मौका पाएनन्। स्पिनर हाबी भएको प्रतियोगितामा कप्तान सोमपाल कामीले फास्ट बलरका रुपमा आफू र नन्दन यादवलाई प्रयोग गरे। दुवै प्रतियोगिताका सफल बलर हुन्।

८ खेलमध्ये गुल्सनले ४ खेलमा ८ ओभर मात्र बलिङ गर्न पाए। जसमा उनले ७.८७को इकोनोमीमा १ विकेट मात्र लिए।

कर्णाली प्रतियोगिताका क्वाफियारसम्म पुगेपनि आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा गुल्सन ‘फ्लप स्टार’को ट्याग भिर्न बाध्य रहे।

भीम सार्की

एनपिएलमा चल्न सकेका अर्का खेलाडी हुन्, भीम सार्की। अक्सनबाट भीमलाई काठमाडौं गुर्खाजले किनेको थियो। स्लो पिचमा मिडल अर्डरमा काठमाडौंले उनीबाट धेरै आशा गरेको थियो। एक खेलबाहेक उनले अपेक्षाअनुसार ब्याटिङ गर्न सकेनन्।

७ खेलमा भीमको ब्याटबाट ७८ रन मात्र निस्कियो। उनको स्ट्राइक रेट ७९.५९ मात्र रह्यो। लुम्बिनी लायन्सविरुद्ध ४० बलमा ३१ र पोखरा एभेन्जर्सविरुद्ध २० बलमा २२ रन बनाउनु नै उनको उत्कृष्ट इनिङ रह्यो।

एकदिवसीयका लागि उपयुक्त खेलाडीको छवि बनाएका भीमले आफ्नो त्यो छविलाई एनपिएलबाट पनि बदल्न सकेनन्।

आरिफ सेख

नेपाली राष्ट्रिय टिममा ‘आइस ब्रेक’को छवि बनाएका आरिफ सेखका लागि जारी एनपिएल सम्झन लायक रहेन। प्रतियोगितामा उनको टिम सुदूरपश्चिय रोयल्स उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेपछि आरिफको असफलता छायामा परेको छ।

प्रतियोगितामा ८ खेलमध्ये एक खेलमा मात्र राम्रो ब्याटिङ गरेका छन्। आरिफले ८ कुल ६८ रन मात्र बनाउन सकेका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध नटआउट ४२ रनको पारी खेलेका थिए, त्यो उनको उत्कृष्ट पारी हो। प्रतियोगितामा उनको एभरेज १३.६० छ भने स्ट्राइक रेट १०० को छ।

सन्दीप जोरा

सन्दीप जोरालाई अक्सनबाट लुम्बिनी लायन्सले टिममा लिएको थियो। राष्ट्रिय टिमका नियमित खेलाडी सन्दीपबाट लुम्बिनीले ठूलो अपेक्षा गरेको थियो। तर, त्यस्तो हुन सकेन।

एनपिएलमा सन्दीप र लुम्बिनीको दुवै प्रदर्शन बिर्सनलायक रह्यो। लुम्बिनी १ खेल जित्दै प्रतियोगिताको पुछारमा रहँदा सन्दीपले ७ खेलमा कुल १२० रन मात्र बनाउन सके। उनको स्ट्राइक रेट १०४.३४ को छ मने उच्च स्कोर ३६ छ।

सन्दीपले २ खेलबाट ३ ओभरमा २ विकेट लिएका छन्।

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, पुस ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्