‘नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन आवश्यक छ’
काठमाडौं, पुस ५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत व्यापारमा रहेका अवरोध अटाउन अति आवश्यक रहेको बताएकी छिन्।
काठमाडौं विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ले आयोजना गरेको ‘भारत–नेपाल आर्थिक सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री डा. राणाले दुई देशबीचको व्यापार असमान रहेकोप्रति चिन्ता व्यक्त गरिन्।
नेपालको भारतसँगको व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा निकै बढेको बताउँदै उनले यस्तो असमानता कम गर्न व्यापारको विविधिकरण र विस्तारका उपाय खोज्न आह्वान समेत गरिन्।
नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन आवश्यक रहेको बताउँदै गैर–भन्सार अवरोध, सीमा व्यापारका संरचनागत समस्याहरूले दुवै देशको आर्थिक सम्बन्धलाई अवरोध पुर्याएको उनको भनाई थियो।
यस्तै, उनले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशीक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उल्लेख गरिन्।
‘शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ। धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौदेखि नजिक बनाउँदै आएका छन्,’ उनले भनिन्, ‘पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ।’