चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा, चितवन बाहिरियो
बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको एलिमिनेटरमा चितवन राइनोजलाई २२ रनले पराउँदै कर्णाली क्वालिफायरमा पुगेको हो।काठमाडाैं, पुस ३ : सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स नेपाल प्रिमियर लिगको क्वालिफायर २मा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको एलिमिनेटरमा चितवन राइनोजलाई २२ रनले पराउँदै कर्णाली क्वालिफायरमा पुगेको हो।
अब उसले फाइलन प्रवेशका क्वालिफायर २मा क्वालिफायर १मा पराजित टिम (सुदूरपश्चिम रोयल्स या जनकपुर बोल्ट्स)सँग खेल्नेछ। लिगमा चिवतन तेस्रो र कर्णाली चौथो हुँदै प्लेअफमा पुगेका थिए।
यता, चितवन भने एनपिएलमा चाैथाे भएकाे छ। अब उसले १५ लाख रूपैयाँ पाउने छ।
पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको १७६ रनको ठूलो लक्ष्य पछ्याएको चिवतनले ९ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो। उसका लागि रवि वोपराले अर्धशतकीय इनिङ खेले पनि अन्यले साथ दिन सकेनन्। बोपराले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाए।
जारी प्रतियोगितामा बोपराका यो तेस्रो अर्धशतक हो। उनले ४०.८५को औसतमा कुल २८६ रन बनाएका छन्। र, उनी सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले २७९ रन बनाएका रोहित पौडेललाई पछि पारे।
यस्तै, कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केस्टेइनले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बलिङमा कर्णालीका जिसन मक्सुदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। यस्तै, युवा स्पिनर विपिन शर्माले पनि १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले जयकिशन कोन्सावाला र विलियम बसिस्टोले अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १७५ रन बनायो।
उसका लागि डेब्यू खेलाडी कोन्सावालाले सर्वाधिक ५३ रन बनाए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनलाई कर्णालीले लिग चरण सकिएपछि ल्याएको हो। उनले यसअघि नेपालम फ्रेन्चाइज क्रिकेट खेलिरसकेका छन्। उनले एभरेस्ट प्रिमियर लिग कर्णालीको प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै खेलेका थिए।
यस्तै, इनमर्फ बसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए। बसिस्टो र कोन्सावालाले तेस्रो विकेटका लागि ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। बसिस्टोले पाँचौं विकेटका लागि चाडविक वाल्टनसँग पनि ६७ रनको सझेदारी गरेका थिए। वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गदैृ ४६ रन बनाए।
बलिङमा चितवन सोहेल तनवीर २ विकेट लिए भने शरद भेषावकर, रवि बोपरा र कुशल मल्लले समान १ विकेट लिए। प्रतियोगिताभर उत्कृष्ट बलिङ गरे रिजन ढकाल कर्णालीविरुद्ध भने फिका देखिए। उनले ४ ओभरमा विनाविकेट ४४ रन खर्चिए।