रविमाथि दुर्व्यवहार भएकोबारे आयोगले गर्यो एआइजीसँग सोधपुछ
आइजिपी कुँवरसँग पनि सोधपुछ गरिने
काठमाडौं, मंसिर २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन प्रहरीको हिरासतमा दुर्व्यहार भएको भन्ने आरोपमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ।
लामिछानेलाई चितवनबाट मध्येरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको निर्देशनमा अमानवीय व्यवहार गरी मानवअधिकार हनन् भएको भन्न उजुरी परेपछि आयोगले सोमबारदेखि अनुसन्धान थालेको हो।
सोमबार विज्ञप्ती जारी गर्दै आयोगले अनुसन्धानको क्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहित प्रहरी उच्च अधिकारीसँग सोधपुछ गरिएको जानकारी दिएको छ।
'जानकारी लिने क्रममा आयोगका माननीय सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूती सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानवअधिकारलाई सम्मान तथा संरक्षण गर्दै निस्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो,' विज्ञप्तीमा भनिएको छ।
रविमाथि अमानवीय व्यवहार भए नभएको विषयमा निष्कर्षमा पुग्नका लागि नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग पनि सोधपुछ गरिने आयोगले जनाएको छ।












