कर्णाली र सुदूरपश्चिममा वर्षासँगै हिमपात, राति कहाँ-कहाँ पर्छ पानी ?
वर्षासँगै हिमपात भएपछि चिसो बढ्यो, जनजीवन प्रभावित
काठमाडौं, मंसिर २४ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा हल्का वर्षा भएको छ।
काठमाडौं उपत्यकामा पनि सोमबार बिहानैदेखि दिनभर बदली थियो। उपत्यकामा दिनभर बदली हुँदा तुलनात्मक रूपमा चिसो महशुस गरिएको छ।
हुम्ला, डोल्पा, अछाम, डोटी, बाजुरा लगायतका जिल्लाहरूका पहाडी भूभागमा सोमबार वर्षासँगै हिमपात पनि भएको छ। वर्षासँगै हिमपात हुँदा खेती लगाउने अनुकूल वातावरण तयार भएको छ।
यद्यपि सँगै चिसो पनि बढेपछि जनजीवन केही प्रभावित भएको छ।
सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री मापन भएको छ। त्यस्तै जुम्लाको माइनस ५ डिग्री सेल्सियस, डडेलधुराको २.७, ताप्लेजुङको ५.८, ओखलढुंगाको ६.१, पोखराको ८.२, दिपायलको ७.१ , विराटनगरको ११.७ डिग्री सेल्सियस मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घन्टामा कालीकोटमा धेरै पानी परेको मापन गरेको छ। विभागको रेकर्डमा कालीकोटको विजयपुर केन्द्रमा ६ घन्टमा १०.६ मिलिमिटर वर्षा मापन गरेको छ।
त्यस्तै दैलेखको कल्टीमा ९ मिलिमिटर, सुर्खेतको वीरेन्द्रनगरमा ३.६ मिलिमिटर, दैलेखमा ५ मिलिमिटर, डडेलधुरामा ३.२ मिलिमिटर, बाजुरामा ५.२ मिलिमिटर वर्षा मापन भएको छ।
मुस्ताङ, जाजरकोट, डोटी, हुम्ला, कालीकोट, डोल्पा, मुस्ताङ, पर्वत, गुल्मीमा पनि छिटपुट वर्षा भएको छ।
धादिङ, काठमाडौं र सिरहामा पनि सोमबार दिउँसो छिटपुट वर्षा भएको छ।
विभागले सोमबार राति कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जनाएको छ।
राति कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।












