रविलाई हिरासतमा दुर्व्यवहार गरिएको र रातारात पोखरा पठाइएकोबारे के भन्छ चितवन प्रहरी ?
रास्वपाले हिरासतमा लामिछानेको निजी डायरी प्रहरीले खोसेको आरोप पनि लगाएको थियो।काठमाडौं, मंसिर २३ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेलाई रातारात पोखरा पठाएको भनेर लगाएको आरोपमा चितवन प्रहरीले खण्डन गरेको छ।
चितवनको सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणको अनुसन्धानका लागि लामिछानेलाई चितवन लगिएको थियो। त्यहाँ बयान सकिएपछि चितवन प्रहरीले मंसिर २० गते रातारात गाडीबाट पोखरा पठाएको थियो।
रास्वपाले विज्ञप्ति नै जारी गरेर चितवन प्रहरीले सभापति लामिछानेमाथि हिरासतमा दुर्व्यवहार गरेकोदेखि निद्राबाट उठाएर रातारात पोखरा पठाएको आरोप लगाएको थियो।
रास्वपाले हिरासतमा लामिछानेको निजी डायरी प्रहरीले खोसेको आरोप पनि लगाएको थियो।
आइतबार चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले विज्ञप्ती जारी गर्दै ती सबै आरोपहरू निराधार रहेको बताएका छन्।
चितवन प्रहरीले बयान सकिएपश्चात प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु सामाजिक सञ्जालमा सम्प्रेषण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएको छ।
चितवन प्रहरीले मंसिर १९ गते लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान कार्य भईरहेको अवस्थामा अनुसन्धान कार्य बिथोल्ने मनसायबाट भीडले प्रहरी माथी ढुंगा मुढा प्रहार गर्ने, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला सरकारी वकिल कार्यालयमा भीड प्रवेश गर्न खोज्ने लगायतको कार्य समेत भएको, मौसम हवाई उडानका लागि प्रतिकूल रहेको उल्लेख गरेको छ।
त्यतिबेला हवाइ उडानबाट लैजान सक्ने अवस्था नरहेको र तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भीडबाट निजको सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएपछि बयान सकिएपछि लामिछानेलाई हिरासतमा समेत नराखिएको विज्ञप्तिमा उल्लेख ५।
'... हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा पूर्व उपप्रधान तथा गृह मन्त्री माननीय रवी लामिछानेले आफन्त तथा शुभचिन्तकहरुसँग भेटघाट वार्तालाप गरी सके पश्चात् भेटघाट कक्षबाटै मिति २०८१।०८।२० गते बिहान ००:०५ बजेको समयमा नेपालको प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई जिम्मेवार प्रहरी अधिकृत प्रहरी नायव उपरीक्षकको कमाण्डमा चितवनबाट सुरक्षित रुपमा लगि जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको..,' विज्ञप्तिमा भनिएको छ।
त्यसकारण तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन प्रहरीले अनुरोध गरेको छ।
'त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी, सही सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिन हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, चितवन हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।