लकडाउनमै नेपालगञ्ज-बघौडा सडक निर्माण सुरु
नेपालगञ्ज, वैशाख ९ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लकडाउन जारी रहेपनि नेपालगञ्ज–बघौडा सडक निर्माणको काम शुरु भएको छ।
हुलाकी सड....

नेपालगञ्ज, वैशाख ९ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लकडाउन जारी रहेपनि नेपालगञ्ज–बघौडा सडक निर्माणको काम शुरु भएको छ।
हुलाकी सडक योजना नेपालगञ्जअन्तर्गत रहेको नेपालगञ्ज–बघौडा सडकखण्डको दूरी कायम गर्ने गरी निर्माण कम्पनीले निर्माण शुरु गरेको हो। सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनले लकडाउन भएपनि सीमित जनशक्तिको परिचालन गरी काम शुरु गरिएको हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामसागर हरिजनले जानकारी दिए।
उनका अनुसार सरकारले राष्ट्रिय गौरवका योजनाको काम अगाडि बढाउने निर्णय गरेपछि हुलाकी सडकको काम पनि निर्माण कम्पनीले बिहीबादेखि शुरु गरेको हो।
मजदुरको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरी दूरी बनाएर निर्माणको काम शुरु गरिएको सडक निर्माणको जिम्मा पाएको गणपति कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक तुल्सीराम भण्डारीले जानकारी दिए। नेपालगञ्ज–बघौडा ४४ किलोमिटर सडकमध्ये ३६ किमी कालोपत्रे भइसकेको बताउँदै उनले लकडाउनका कारण रोकिएको काम तदारुकताका साथ अगाडि बढाउने गरी काम भइरहेको बताए।
अहिले निर्माण बाँकी रहेको नरैनापुर र कालाफाँटा क्षेत्रमा काम भइरहेको छ। बाँकी आठ किमीमध्ये चार किमी कालोपत्र लागि तयार भएको छ। थप चार किमी कालोपत्रको लागि तयारी भइहेको छ।
कन्स्ट्रक्सनका फिल्ड व्यवस्थापक इन्द्र केसीले मजदूरलाई निश्चित दायराभित्र राखेर स्वास्थ्यावस्थामा प्रभाव नपर्ने गरी कामको व्यवस्था मिलाइएको बताए।
सरकारले सडक निर्माणको काम दूरी कायम गरेर पुनःसञ्चाल गर्न आग्रह गरे पनि फिल्डमा सुरक्षाकर्मी सकारात्मक नभएपछि निर्माण कम्पनीलाई सोमबार जिल्ला प्रशासन कार्यालय र हुलाकी सडक योजना कार्यालय नेपालगञ्जबाट काम सञ्चालन अनुमतिको पत्र बनाइएको सूचना अधिकारी हरिजनले जानकारी दिए।
हुलाकी सडक योजना कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको नेपालगञ्ज–बघौडा ४४, फत्तेपुर–बैजापुर २१ , दाङको लमही–कोइलाबास ३६, बर्दियाको बेलवा–राजापुर २६ र भुरीगाउँ–गुलरिया–मूर्तिया ३६ किमी लम्बाइको हुलाकी सडक निर्माण प्रक्रियामा छन्। (रासस)










-1754206481.jpg)
