वीरगन्ज भन्सार कार्यालयले पुस १ गतेदेखि थप दुई घन्टा सेवा बढाउने
वीरगन्ज भन्सारको विस्तारित सेवा पुसदेखि बढाइने
वीरगञ्ज, मंसिर २१ । वीरगञ्जका दुवै भन्सार कार्यालयले आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा सेवा बढाउने भएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घन्टा भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको हो ।
पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउनका लागि थप दुई घण्टा विस्तारित गर्न लागेको जानकारी दिए।
'भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो,' उनले भने।
'सो कारणले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई केही मर्कामा पर्दै आएको थियो,' उनले भने। व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म सेवा विस्तारित गर्ने निर्णय गरेका छौँ । यसले पक्कै पनि सेवाग्राहीलाई धेरै सहज हुने अपेक्षा राखेका छौँ,' उनले भने।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सेवा विस्तारले समयमा बैंक, क्वारेन्टाइनलगायतका सबै सेवा थप हुने जानकारी दिए।
'यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ,' उनले भने।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले पनि भन्सारको सेवा थप गर्दा भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई पनि सहज हुने बताए।
वीरगन्जमा सुविधासम्पन्न दुई भन्सार कार्यालय छन्। वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सिर्सियास्थित सुक्खा बन्दरगाह रहेको छ।












