टि-२० विश्वकपबारे आईसीसीले अगष्टमा निर्णय लिने
काठमाडौं, वैशाख ८ : कोरोना भाइरसका कारण विश्व खेलकुदका धेरै प्रतियोगिता अहिले अन्योलमा परेका छन्। यसै वर्ष आयोजनाका लागि तय भएका ओलम्पिक, युरोकप,....

काठमाडौं, वैशाख ८ : कोरोना भाइरसका कारण विश्व खेलकुदका धेरै प्रतियोगिता अहिले अन्योलमा परेका छन्। यसै वर्ष आयोजनाका लागि तय भएका ओलम्पिक, युरोकप, कोपा अमेरिका लगायतका कतिपय ठूला प्रतियोगिताहरू एक वर्षपछि सरेका छन्।
आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप पनि अन्योलमै छ। आईसीसीले प्रतियोगिता समयमै गर्ने या सार्ने भन्ने विषयको निर्णय अगष्टमा मात्रै लिने भएको छ।
‘अहिले परिस्थिति प्रतिकुल छ। अहिले सबैका लागि स्वास्थ्य नै पहिलो प्राथमिकतामा छ। विश्वकप आउन अझै समय बाँकी छ, अगष्टसम्म कुर्नुपर्छ,’ आईसीसीका एक अधिकारीले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘आगामी दुई महिनामा अवस्था राम्रो पनि हुन सक्छ। यदि आईसीसीले मेमै विश्वकप स्थागित गर्ने निणर्य ग¥यो र आगामी दुई महिनामा अवस्था सुध्रियो र प्रतियोगिता गर्न सक्ने अवस्था आयो भने अन्तर्राष्ट्रिय क्रिकेटमा यसले ठूलो असर गर्छ। सोच विचार गरेर मात्र निर्णय गर्नुपर्छ, निर्णय गर्न हतार गर्नुहुन्न।’
उनका अनुसार टि–२० विश्वकपबारेमा अहिले योजना अनुसार नै काम भइरहेको छ। यही अनुसार चलिरहे तोकिएकै अवस्थामा विश्वकप हुन सक्ने उनले बताए। तर, अहिलेको अवस्थामा आईसीसीको प्रमुख चासो खेलाडी, प्रशिक्षक र दर्शकको सुरक्षा नै भएको उनले बताए।
आईसीसीले बुधबार भिडियो कन्फेरेन्समार्फत आफ्ना सदस्यहरुसँग अहिलेको अवस्थाका विषयमा छलफल गर्दैछ।











