Kathmandu Press

विपिन जोशी जीवितै छन्, छिट्टै फर्किनेछन्:  इजरायली राजदूत

इजरायलका नवनियुक्त राजदूत शमुलिक ए. वासले प्यालेस्टाइनको अतिवादी समूह 'हमास'ले बन्धक बनाएको नेपालका विपिन जोशी जिवितै रहेको बताएका छन्।
विपिन जोशी जीवितै छन्, छिट्टै फर्किनेछन्:  इजरायली राजदूत

काठमाडौं, मंसिर २० । नेपालका लागि  इजरायली राजदूत शमुलिक ए. वासले प्यालेस्टाइनको अतिवादी समूह 'हमास'ले बन्धक बनाएको नेपालका विपिन जोशी जिवितै रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै राजदूत वासले गाजामा विपिन जोशी जिवितै रहेको सूचना प्राप्त भएको बताएका हुन्।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना हामीले पाएका छौं, उनी छिट्टै काठमाडौं फर्किनेछन्,' उनले भने।

पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई गत वर्षको असोजमा हमासले बन्धक बनाएर गाजा लगेको थियो।

त्यतिबेला हमासले इजरायली भूभागमा आक्रमण गरी १० नेपालीसहित कम्तिमा १२०० जनाको हत्या गरेको थियो।

विपिन जोशीसहित झन्डै साढे २ सय जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो।

१४ महिनाको बीचमा विपिन जोशीको अवस्था बुझ्न र उनलाई नेपाल फर्काउने विषयमा पहल गरिदिन कतारमार्फत विशेष पहल हुँदै आएको थियो।

केही अघि विपिन जोशी गाजाको एक अस्पतालमा रहेको भन्दै इजरायलको सेनाले एक भिडिओ जारी गरेको थियो।

त्यसयता विपिन जोशीको अवस्थाबारे कहिँ कतै सार्वजनिक भएको थिएन।

हमास र इजरायलबीच बीचबीचमा भएको युद्धविराममा केही बन्दी रिहा भएपनि विपिन जोशी रिहा भएका थिएनन्।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि इजरायल र हमासबीच युद्धविरामको पहल हुने आकलन गरिएको छ।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्