Kathmandu Press

चीनबाट फर्किएर ओलीले भने- १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ

‘अब म प्रधानमन्त्री १८ महिना जति छु, त्यसपछि शेरबहादुर देउवाज्यूलाई हस्तान्तरण गर्छु ,' उनले भने।
चीनबाट फर्किएर ओलीले भने- १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ

काठमाडौं, मंसिर २० ।   प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्।

बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।

Hardik ivf

उनले भने, ‘अस्ति नै देखि मैंले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन, मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यसपटक बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा पनि गरेका छौं ।’

उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए ।  चीन भ्रमणको क्रममा नेपाल–चीन मित्रलाई प्रगाढ बनाउने कुरा भएको बताए ।

‘मित्रता अरू कसैका विरूद्ध नभई हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो । मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पुर्‍याउने भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने ।

साथै उनले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए ।

‘अब म प्रधानमन्त्री १८ महिना जति छु, त्यसपछि शेरबहादुर देउवाज्यूलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि अब हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आउँछ भन्ने विश्वास छ । आएन भने अरू तरिकाहरू होला,’ उनले भने ।

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्