Kathmandu Press

हर्क साम्पाङ र रास्वपाका कार्यकर्ताको ज्यादतीबारे महासंघको भर्त्सना  

हर्क साम्पाङ र रास्वपाका कार्यकर्ताको ज्यादतीबारे महासंघको भर्त्सना  

काठमाडौं, मंसिर २० : समाचारको विषयलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखेर पत्रकारलाई धम्की दिएका थिए । खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङको बारे लेखेको समाचार प्रकाशित भएपछि प्रमुख साम्पाङले सामाजिक सञ्जालमार्फत धम्की दिएका हुन्।  

साम्पाङले धम्की दिँदै भनेका थिए, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन।’ 

Hardik ivf

महासंघका महासचिव रोशन पुरीद्वारा शुक्रबार जारी विज्ञप्तिमा समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधानको बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको हर्कत अत्यन्त निन्दनीय रहेको उल्लेख छ। 

महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको ठहर छ। महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ। 

यस्तै, सहकारी ठगीलगायतका आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पत्रकारमाथि गरेको आक्रमण र दुव्र्यवहारका घटनाप्रति पनि विज्ञप्तिमार्फत कडा आपत्ति जनाइएको छ। 

मंसिर १९ गते बुधबार चितवनमा सभापति लामिछानेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य एवं कपुरबोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई निर्घात कुटपिट गरेका थिए । उक्त घटनाका बारे बुझ्न जाँदा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवाललाई दुर्व्यवहार गरिएको थियो।

महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो । यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ।’ 

विज्ञप्तिमा महासंघले घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, मंसिर २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्