Kathmandu Press

५० वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन्।
५० वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ: देउवा

काठमाडौं, मंसिर १९ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागद्वारा आज यहाँ आयोजित ‘शिक्षा नीति बहस’ विषयक कार्यक्रममा बोल्दै सभापति देउवाले शिक्षा र स्वास्थ्य पहिलो आवश्यकता भएको भन्दै नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनुपर्ने बताए।

Hardik ivf

'शिक्षा प्रणालीको गुणात्मक विकासदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई समयसापेक्ष र विश्वस्तरीय बनाइनु आवश्यक छ, सबै तह र क्षेत्रका उत्कृष्ट शिक्षा नीति तय गर्न यो बहस महत्वपूर्ण हुनेछ,' उनले भने।

कांग्रेसले मुलुकको शिक्षा प्रणालीको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले शिक्षा ऐनको विषय चर्चामा रहेकाले यसका लागि पार्टीले पहलकदम लिने उल्लेख गरे।

'क्याम्पसहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थाको समस्या समाधानका लागि बहस उपयोगी हुनेछ, बहसबाट आएका निष्कर्ष कार्यान्वयनमा पार्टीले ध्यान दिनेछ, दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ,' सभापति देउवाले भने।

पार्टीको शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तित्व र विषयविज्ञले आफ्ना धारणा राख्ने र प्रस्तुतीकरण राखेका थिए।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, मंसिर १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्