मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्ड
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए।
काठमाडौ, मंसिर १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्।
गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उनले मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको भएपनि यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोजेकाले पुनः नयाँ क्रान्ति आवश्यक रहेको बताएका हुन्।
'हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ,' उनले भने।
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए।
लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले बताए।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गरे।
उनले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए। यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताए।












