तीनवटै सरकारले संस्कृति संरक्षणमा पहल लिन जरूरी छ : मन्त्री पाण्डे
प्रतिष्ठानबीच एकरूपता बनाउनका लागि मापदण्ड निर्माण गर्न जरूरी रहेको औंल्याउँदै उनले मर्यादाक्रमको पनि वर्गीकरण जरूरी रहेको बताए।
काठमाडौं, मंसिर १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघ, प्रदेश र पालिकाले संस्कृति जोगाउन संस्थागतरूपमा पहल गर्न जरूरी रहेको बताएका छन्।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट जारी ७ बुँदे ‘प्राज्ञिक घोषणापत्र २०८१’ ग्रहण गर्दै मन्त्री पाण्डेले संस्कृति कला संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जान जरूरी रहेको बताए।
सो अवसरमा मन्त्री पाण्डेले कानुनी जटिलता रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने आश्वासन दिए। साधन श्रोतको अभाव भएकाले क्रमिकरूपमा सुधार लैजाने उनले बताए।
प्रतिष्ठानबीच एकरूपता बनाउनका लागि मापदण्ड निर्माण गर्न जरूरी रहेको औंल्याउँदै उनले मर्यादाक्रमको पनि वर्गीकरण जरूरी रहेको बताए।
यसअघि तीन वटै प्रतिष्ठानले देशभरका प्रदेश सरकार तथा स्थानीय सरकारबाट गठन भएका संस्कृति, ललितकला, साहित्य, सङ्गीत, नाट्य, ज्ञान–विज्ञानसँग सम्बन्धित प्रतिष्ठान–परिषद्–समितिलगायतका प्रतिनिधिको सहभागीतामा प्राज्ञिक भेलाको आयोजना गरेको थियो। सोही भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको थियो।
घोषणापत्रका लागि तीनवटै प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै मन्त्री पाण्डेले घोषणापत्रमा व्यक्त गरिएका विषयलाई मन्त्रालयले अध्ययन गरी त्यसको कार्यान्वयनमा आफ्नातर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।












