Kathmandu Press

‘जनताले माओवादीका एजेण्डा अनुमोदन गरेर एक्लै चुनाव लड्न जनादेश दिएका छन्’

उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको बताएका हुन्।
‘जनताले माओवादीका एजेण्डा अनुमोदन गरेर एक्लै चुनाव लड्न जनादेश दिएका छन्’

काठमाडौं, मंसिर १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको बताएका छन्।

उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रुपमा लिएको बताएका हुन्।

‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं। निवर्वचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

Hardik ivf

विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले उत्साहपूर्ण रुपमा पार्टीलाई समर्थन गरेको प्रचण्डले बताएका छन्।

‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्था अनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पुर्‍याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएको भन्दै दाहालले आगामी दिनमा पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको जनाए।

यो उपनिर्वाचन मार्फत जनताले प्रकट गरेको अभिमतलाई पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिइने प्रचण्डको भनाई छ। 

विज्ञप्ती मार्फत अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रचण्डको प्रतिबद्धता छ।

prachanda-upnirbachan-bigyapti-1733217904.png
 

प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, मंसिर १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्