मतगणना जारी रहेका तीन पालिकामा कुन दल अगाडि ?
अब तीन वटा पालिकाको प्रमुख/ उपप्रमुख र एउटा वडाको नतिजा आउन बाँकी छ।
काठमाडौं, मंसिर १७ । स्थानीय तह उपनिर्वाचको मतगणना अन्तिम चरणमा छ।
अब तीन वटा पालिकाको प्रमुख/ उपप्रमुख र एउटा वडाको नतिजा आउन बाँकी छ।
तीमध्ये मतगणना स्थगित भएको उदयपुरमा दलहरू छलफलमा छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको मतगणना भइरहेको छ।
विशेष चासोका साथ हेरिएको कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायम गरेका छन्।
साँझसम्म उनले ३ हजार ३८५ मत ल्याउँदा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत ल्याउँदै पछ्याइरहेका छन्।
यहाँ माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार ३१७ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार २०७ मत पाएका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ।
यहाँ माओवादीकी निम लेकी शेर्पाले १ हजार ३८० मत ल्याउँदा एमालेकी उमा लुंगेली मगर शेर्पाले १०१३ मत ल्याएकी छन्। कांग्रेसकी पासदिकी तामाङले ७९६ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ६० मत मात्रै पाएकी छन्।
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा पनि माओवादीले नै अग्रता लिएको छ।
माओवादीकी देवकी तिमल्सिनाले ७०६ मतसहित अग्रता लिएकी छन् भने कांग्रेसकी सविता बुढाले ४९३ मत ल्याउँदै पछ्याइरहेकी छन्।
यहाँ एमालेकी जाना शाहीले ४७१ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकि संगीता शाहीले २१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले ६ मत मात्रै ल्याएकी छन्।
कीर्तिपुरमा सोमबार रातिसम्ममा अन्तिम परिणाम आइसक्ने आकलन छ भने बाँकी दुई ठाउँमा केही समय थप लाग्नेछ।












