एनपिएलमा जनकपुरको लगातार दोस्रो जित, चलेनन् कर्णालीका विदेशी खेलाडी
सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको सहज जित निकाल्यो।काठमाडाैं, मंसिर १७ : जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लागतार दोस्रो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको सहज जित निकाल्यो।
यसअघि जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले नै हराएको थियो।
पहिला ब्याटिङ गर्दै कार्णालले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। जनकपुरलाई लागतार दोस्रो जित दिलाउन राष्ट्रिय टिमका दुई ओपनर आसिफ सेख र अनिल साहले उत्कृष्ट ब्याटिङ गरे।
यी दुईले पहिलो विकेटका लागि ८४ रनको महत्वपूर्ण साझोदारी गरेका थिए। नटआउट रहेका अनिलले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन बनाए। यो एनपिएलमा नेपाली खेलाडीले बनाएको पहिलो अर्धशतक हो।
यस्तै, आसिफ सेखले २९ बलमा ३६ रन बनाउँदा उद्घाटन खेलमा अर्धशतक बनाएका लहिरु मिलनथाले १३ बलमा २४ र पहिलो खेल खेलिरहेका जिमी निशमले ८ बलमा १६ रन बनाए।
बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनायो। विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा कर्णालीको सुरुआत राम्रो हुन सकेन। तर, अन्तिम २ ओभरमा ४३ रन बनाएपछि कर्णालीले प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।
चार विदेशी ब्याट्सम्यानलाई मैदानमा उतारेका कार्णालीका लागि शिखर धवनले १४, बाबर हायतले १२, चाडविक वाल्टनले ८ रन बनाउँदा जिशन मक्सुदले खाता खोल्न सकेनन्।
कर्णालीले अन्तिम २ ओभर बाँकी छँदा कर्णाली ९८–६को दबाबपूर्ण अवस्थामा थियो। त्यसपछि २ ओभरमा अर्जुन घर्ती र कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाएका थिए।
जसमा अर्जुनले १९औं ओभरमा हर्ष थाकरलाई समान २ चौका र २ छक्का प्रहार गर्र्दै २२ रन बनाएका थिए। अन्तिम ओभरमा जिमी निशमलाई सोमपालले ३ चौका र १ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए। खेलमा अर्जुजनले २२ बलमा ३३ रन बनाउँदा सोमपालले १३ बरमा २९ रन बनाए।
त्यसअघि ३५–४को खराब अवस्थामा रहेको कर्णालीका लागि गुल्सन झाले २७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३६ रनको उत्कृष्ट इनिङ खेले।
बलिङमा जनकपुरका मोहमम्मद मोसिन खानले २ विकेट लिए भने किशोर महतो, ललित राजवंशी, हर्ष र निशमले समान १ विकेट लिए।