११ महिनामा साढे १० लाख विदेशी पर्यटक भित्रिए
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
काठमाडौं, मंसिर १६ : सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
उक्त तथ्यांक अनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ। सन् २०२४ अन्त्य हुन अब एक महिना मात्र बाँकी छ।
डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ। यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारी मात्रै पर्यटक भित्रिने देखिन्छ।
नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन्। यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा ५.४० प्रतिशत बढी हो। उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए।
बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए। सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ।
बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटक भन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए।
एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले बताए।
संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको ६ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ। उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ। विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले बताए।
बोर्डको तथ्यांक अनुसार नोभेम्बरमा भारतबाट सबैभन्द धेरै १९ हजार नौ सय १५ पर्यटक आएका छन्। संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यस्तै, बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्।












