खेलकुद मन्त्रालय चलाउन गाह्रो भयो : मन्त्री चौधरी
राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए।
काठमाडौं, मंसिर १६ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गाह्रो भएको बताएका छन्।
राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए।
यसवर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको बताउदैं मन्त्री चौधरीले भने–‘यस वर्षको बजेट हेर्ने हो भने तीनअर्ब ५० करोड मात्र छ। त्यस मध्ये पुँजीगत बजेट धेरैमा डेढ अर्ब छ। यसमा ६० करोड रुपैयाँ दशौँ राष्ट्रिय खेलकुद कर्णाली, पाँच करोड पारा खेलको लागि, ५० करोड रुपैयाँ मूल पानीको राष्ट्रिय गौरवको योजनाका लागि, २० करोड किर्तिपुर रंगशाला बनाउनका लागि, अरु साना साना बजेट छन्।’
बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल भएको थियो भने मन्त्री लगायत मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्को उपस्थिती थियो।