Kathmandu Press

रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलकाे पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माणमा खटिएका ५ जना मजदुरको मृत्यु भएको हो।
रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु

रोल्पा, मंसिर १६ : रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ।

रोल्पाको सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको मृत्यु भएको हो।

आइतबार पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरिएर तीन पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड. पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत काममा खटिएका रोल्पा सुनछहरी गाउँपालिका ३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गर्दै मृतकको बिमा गरिएको नगरिएको बारेमा खोजी गरिएको प्रहरीले जनाएको छ। घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, मंसिर १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्