सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?
किस्ता वा ब्याज तिरिएको होइन, डिपोजिट गर्न पठाएको भनेर दाबी गर्न पनि सक्छौं: मनिष झाकाठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेले हस्ताक्षर गरेको चेक फेला पर्दैमा सहकारी ठगीमा उनको संलग्नता पुष्टी नहुने बताएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा भएको पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सभापति लामिछानेले हस्ताक्षर गरेको चेकले मात्रै उनी सहकारी ठगीमा संलग्न रहेको पुष्टी नहुने बताएका हुन्।
'उहाँले हस्ताक्षर गरेको चेक मात्रै भएर भएन,के प्रयोजनका लागि गरिएको भन्ने सपोर्टिङ डकुमेन्ट आएको छैन,' झाले पत्रकार सम्मेलनमा भने।
उनले बाहिर आएकै जस्तो सहकारीको ऋण तिर्नकै लागि चेक जम्मा नभएको पनि हुनसक्ने बताए।
चेक र चेकको सिग्नेचर भन्दा पनि त्यो कुन माइन्युटको आधारमा साइन गरिएको थियो। निड अफ पेमेन्टको प्रोसेस के हो? कहाँबाट सुरू भयो? त्यसको टिप्पणी, भौचर आउँछ,' उनले भने।
यस विषयमा अदालतमा छलफल भइरहेकाले आफूहरू चुप लागेर बसेको पनि झाले बताए।
यसअघि छानबिन समितिले पनि लेनदेनमा कतैपनि संलग्न नभएको भनिसकेको उनको तर्क छ।
आफ्ना सभापति लामिछानेले यसअघि गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे थाहा नभएको बताउँदै आएको कार्यवाहक प्रवक्ताले बताए।
प्रहरीको अनुसन्धानको क्रममा भेटिएको हस्ताक्षरसहितको चेकका विषयमा दुई कुरा हुने उनको भनाइ छ।
'त्यसको सपोर्टिङ डकुमेन्ट के थियो। किस्ता तिरिएको हो कि ब्याज तिरेको भन्ने रिमार्कमा कतै यो कुरा उल्लेख छैन। हामी किस्ता वा ब्याज तिर्न होइन, डिपोजिट गर्न त्यहाँ पठाएको भन्ने दाबी गर्न सक्छौं,' उनले भने, 'अतिरञ्जित गर्न खोज्ने हो भने हामीसँग अर्को बाटो छ। त्यसैले यसमा तर्कवितर्क गर्न चाहँदैनौं। अनुसन्धानपछि पुग्ने डकुमेन्टले गर्ने निर्णय हो यो।'
ब्याज नै तिरेको अथवा किस्ता तिरेको भन्ने विषयलाई पुष्टी गर्ने कागजात नआएको, भौचर र त्यसमा लेखिएको विवरणहरू नआएको दोहोर्याए।
लाखभन्दा बढीको चेक हस्ताक्षर हुँदा माइन्युट हुने र त्यो माइन्युटमा के थियो भन्नेबारे पनि अहिलेसम्म नआएको उनले बताए।
त्यसकारण यत्तिका दिन भइसक्दा अब ९० दिनको दायरा पूरा हुन २० दिन मात्रै भएकाले न्यायालयलाई विश्वास गरी बाँकी दिन कुर्नुपर्ने उनले बताए।
'यद्यपि तर्क गर्दै जाने हो भने हामी पनि गर्न सक्छौं,' उनले भने।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की पुर्याइएको लामिछानेलाई कात्तिक २७ गते सुप्रिम सहकारीको बचत अपचलनक प्रकरणमा बयानका लागि रूपन्देही लगिएको थियो।
त्यहाँ बयानका क्रममा प्रहरीले रवि लामिछानेले हस्ताक्षर गरेको चेक देखाएका थिए।
यसअघिसम्म गोर्खा मिडिया र विभिन्न सहकारीबीच भएको कारोबार आफूलाई थाहा नभएको दाबी गर्दै आएका लामिछानेलाई प्रहरीले सहकारीमा जम्मा भएको उनको हस्ताक्षरसहितको चेक देखाएका थिए।
चेक देखाएर त्यसबारे प्रश्न गरेपछि लामिछानेले जवाफका लागि समय मागेका थिए। त्यसकारण रूपन्देहीमा उनको बयान समेत लम्बिएको थियो।
जवाफमा उनले आफू गोर्खा मिडियामा हुँदा चेकहरू आफू बस्ने क्यबिनमा टेबलको ड्रयर (घर्रा)मा राख्ने गरेको र त्यसमा कसैले रकम लेखिदिएर लगेको हुनसक्ने बताएका थिए।
उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले पाँचौंपटक १५ दिनको म्याद थप गरेको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा पनि बयान लिन उनलाई काठमाडौं ल्याइँदैछ। लगत्तै चितवन लैजाने तयारी छ। चितवनमा सहारा चितवन सहकारीको बचत अपचलन भएको प्रकरणमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।