Kathmandu Press

दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको दोस्रो जित

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।
दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको दोस्रो जित

काठमाडौं, मंसिर ११ । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।

पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो।

यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो।

यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो।

दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अङ्क पर्याप्त बनेन।

उनले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिए । त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाए। लेसेडी लेसुफी ११ रनमा अविजित रहे।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो।

नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए । उनले ५७ बल खेल्दै चार चौका प्रहार गरे । सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे।

बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए।

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, मंसिर ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्