विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका-५ बिनामारेस्थित सर्वाेदय जनक माविलाई अगुवा (लिड) विद्यालयका रुपमा अगाडि बढाएको नगरपालिकाले जनाएको छ।बागलुङ, मंसिर ११ : विद्यार्थीको संख्या न्यून भएपछि बाग्लुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द भएका छन्।
जैमिनी नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको हो।
पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ भने पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ।
नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मले जानकारी दिए।
विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको उपप्रमुख शर्माले बताए। उनले भने, ‘तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन्। चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ।’
नगरपालिकाका जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्योदय प्रावि सकुर्वा विद्यालय बन्द गरिएको छ।
विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित‘लिड’ विद्यालयको अवधारणा ल्याएको उपप्रमुख शर्माले बताए। ‘आवासीय सुविधा सहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन,’ उनले भने।
त्यसैगरी आगामी वर्षबाट जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शंकर प्रावि राङ्खानी समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिए।
बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको संख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको छ।
विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका-५ बिनामारेस्थित सर्वाेदय जनक माविलाई अगुवा (लिड) विद्यालयका रुपमा अगाडि बढाएको नगरपालिकाले जनाएको छ।