श्रम ऐनको अपब्याख्या र श्रमिकअधिकार शोषणप्रति जेटियुसीसीको ध्यानाकर्षण
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले विज्ञप्ति जारी गर्दै श्रमिक अधिकारको संरक्षणका लागि हालका कानूनी व्यवस्थाको सही व्याख्या र प्रभावकारी कार्यान्वयन गर्न सरकार एवं सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो।
काठमाडौं, मंसिर ११ : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)ले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा भइरहेको उदासिनता र आउट सोर्सिङ प्रक्रियाबाट श्रमिक खरिद बिक्री जस्ता गतिविधि प्रति आपत्ति जनाएको छ।
जेटियुसीसीले विज्ञप्ति जारी गर्दै श्रमिक अधिकारको संरक्षणका लागि हालका कानूनी व्यवस्थाको सही व्याख्या र प्रभावकारी कार्यान्वयन गर्न सरकार एवं सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो।
जेटियुसीसीले सामाजिक सुरक्षा योजनाको विस्तारः अनौपचारिक श्रमिकहरूको स्थानीय तहमा पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा समावेश गरिनुपर्ने, वैदेशिक रोजगारीमा सुधार, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा कोष मार्फत सुविधा उपलब्ध गराउने र गन्तव्य राष्ट्रहरूसँग पारस्परिक सम्झौता गर्नुपर्ने मागहरु राखेको छ।
यसैगरी आउट सोर्सिङ मार्फत आपूर्ति गरिने श्रमिकलाई नियमित श्रमिक सरह सुविधा दिने व्यवस्था गर्नुपर्ने र प्रक्रिया कानूनी रूपमा सीमित गर्नुपर्ने, श्रम अडिट अनिवार्य बनाई त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सामाजिक सुरक्षा ऐनको दफा ६४ अन्तर्गत रहेको सामूहिक सौदावाजीको बन्देज हटाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
जेटियुसीसीले सरकारले तुरुन्तै श्रमिक अधिकारका विषयमा निर्णय लिन केन्द्रिय श्रम सल्लाहकार परिषदको बैठक बोलाउनु पर्ने माग राख्दै माग पूरा नभएश्रम बजारलाई सुदृढ बनाउन आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिएको छ।
विज्ञप्तीमा जेटियुसीसीका अध्यक्ष योगेन्द्र कुमार कुँवर, महासचिव लाल कुमार लामा र विभिन्न ट्रेड युनियन महासंघका अध्यक्षहरूले हस्ताक्षर गरेका छन।












