पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रता
दोस्रो दिनको खेल सकिँदा भारत विनाक्षति १७२ रन बनाएको छ। र, भारतले समग्रमा २१८ रनको अग्रता कायम गरेको छ। क्रिजमा यशस्वी जैसवाल ९० रन बनाएर खेलिरहेका छन् भने केएल राहुल ६२ रनमा छन्।काठमाडाैं, मंसिर ८ : पर्थमा शुक्रबारबाट सुरु भएको बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा भारत बलियो अवस्थामा पुगेको छ।
पहिलो दिननै १७ विकेट खसेको टेस्टको दोस्रो दिन भने त्यसको ठीक विपरित भयो। दोस्रो जित ३ विकेट मात्र खस्यो। त्यो पनि पहिलो सेसनको सुरुआतमै।
६७–७को अवस्थाबाट दोस्रो दिनको सुरुआत गरेको अस्ट्रेलिया १०४ रनमै अलआउट भएको थियो। त्यसपछि आफ्नो दोस्रो इनिङ थालेको भारतले अस्ट्रेलियन बलरलाई आफ्नो विकेट दिएन।
दोस्रो दिनको खेल सकिँदा भारत विनाक्षति १७२ रन बनाएको छ। र, भारतले समग्रमा २१८ रनको अग्रता कायम गरेको छ। क्रिजमा यशस्वी जैसवाल ९० रन बनाएर खेलिरहेका छन् भने केएल राहुल ६२ रनमा छन्।
त्यसअघि पहिलो इनिङमा भारत १५० रनमा अलआउट भएको थियो। भारतका लागि डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाएका थिए भने ऋषव पन्तले ३७ र राहुलले ७४ रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका जोश हेजलउडले ४ तथा मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्सले समान २ विकेट लिए।
भारतलाई सस्तैमा समेटेपछि पहिलो इनिङ थालेको अस्ट्रेलियाले पनि राम्रो ब्याटिङ गर्न सकेन। ऊ १०४ रनमै समेटियो। उसका लागि स्टार्कले सर्वाधिक २६ रन बनाए भने एलेक्स क्यारीले २१, त्रविस हेडले ११ र नाथन म्याकस्वीनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
अस्ट्रेलियाको इनिङ धरासायी बनाउने क्रममा कप्तान जस्प्रित बुमराहले ५ विकेट लिए। उनले १८ ओभरमा ३० रन मात्र खर्चिए। योसँगै उनी भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक ५ विकेट लिने फास्ट बलरको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनले ११ पटक यो उपलब्धि हासिल गरेका छन्। उनीभन्दा अघि कपिल देव छन्।
यस्तै, डेब्यू खेलाडी हर्षित रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए।