ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौता
शुक्रबार ग्वार्डिओलाले सिटीसँगको सम्झौता २ वर्षका लागि नवीकरण गरेका छन्। अब उनी २०२६–२०२७को सिजनसम्म सिटीमा रहने छन्।काठमाडाैं, मंसिर ७ : प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँगको सम्झौता नवीकरण गरेका छन्। शुक्रबार ग्वार्डिओलाले सिटीसँगको सम्झौता २ वर्षका लागि नवीकरण गरेका छन्।
सिटीका ग्वार्डिओलाको सम्झौता यो सिजनको अन्त्यसम्म थियो। अब उनी २०२६–२०२७को सिजनसम्म सिटीमा रहने छन्।
सन् २०१६मा म्यान्चेस्टर आएका ग्वार्डिओलाले सिटीलाई विश्वकै नम्बर १ टिम बनाएका छन्। प्रिमियर लिगमा पूर्ण रुपमा दबदबा कायम गरेको छ।
उनको नेतृत्वमा सिटीले ६ प्रिमियर लिग, ४ कारबाओ कप, ३ कम्युनिटी सिल्ट, २ एफए कप र समान १ च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वपक जितेको छ।
ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले कुल ४९० खेल खेल्दा ३५३ खेल जितेको छ भने विपक्षीको पोस्टमा १२ सय गोल गरेको छ।
पछिल्लो समय भने सिटी खराब फर्ममबाट गुज्रिरहेको छ। उसले लगातार ४ खेल हारेको छ। त्यही प्रदर्शनले ग्वार्डिओलाको नवीकरणमा मुख्य भूमिका खेल्यो।
टिम खराब समयबाट गुज्रिरहेकाले यो क्लब छाड्ने उपयुक्त समय नभएको आफूलाई लागेको ग्वार्डिओलाले बताएका छन्।
‘सिजनको सुरुवातदेखि नै मैले यो सिजन अन्तिम हुनसक्छ भनेर सोचिरहेको थिएँ, तर पछिल्लो समयमा हामीले भोगेको चारवटा हारपछि मैले महसुस गरें कि यो क्लब छाड्ने उपयुक्त समय होइन भनेर,’ सम्झौता नवीरकण गरेपछि ग्वार्डिओलाले प्रतिक्रिया दिए।
उनले सिटी आफ्ना लािग निकै महत्वपूर्ण भएको बताउँदै यहाँ आफूले अलग्गै अनुभव गरेको बताएका छन्। उनले थप २ वर्ष क्लबमै रहन पाउँदा खुसी लागेको बताएका छन्।