बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’
सुदूरपश्चिमले आसन्न नेपाल प्रिमियर लिगका लागि ट्यालेन्ट हन्टबाट अलराउन्डर बसन्तलाई ‘आइकोनिक प्लेयर’का रुपमा छनोट गरेको छ। योसँग बसन्त अब एनपिएलका लागि सुदूरपश्चिमको टिममा समावेश भएका छन्।काठमाडाैं, मंसिर ७ : अलराउन्डर बसन्त खत्री सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक प्लेयर’ बनेका छन्।
सुदूरपश्चिमले आसन्न नेपाल प्रिमियर लिगका लागि ट्यालेन्ट हन्टबाट अलराउन्डर बसन्तलाई ‘आइकोनिक प्लेयर’का रुपमा छनोट गरेको छ। योसँग बसन्त अब एनपिएलका लागि सुदूरपश्चिमको टिममा समावेश भएका छन्।
सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्ट गरेको थियो ।
यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै ७ खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राखिएको छ। जसमा आयुव चन्द, अभिषेक पाल, वसन्तसिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावत छन्।
उनीहरुले एनपिएल खेल्न नपाएपनि एनपिएल अवधिभर टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछन्।
एनपिएलको तयारी सुदूरपश्चिमले धनगढीमै गरिरहेको छ। सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।
टिममा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डेलगाउत नेपाली खेलाडी छन् भने विदेशी खेलाडीमा स्कटल्यान्डका ब्रान्डन म्याकलेन, इंग्ल्यान्डका सेफ अली जेब, न्युजिल्याण्ड स्कट कुगेलेइन र युएईका रोहन मुस्तफा छन्।